नारायणकाजी श्रेष्ठमाथि लागेका ८ आरोप र श्रेष्ठका ८ प्रतिवाद
पहिलो संविधानसभा विघटन हुँदै गर्दा बालुवाटार बैठकबाट बाहिर आएर तपाईं क्यामराका अगाडि धुरुधुरु रुनुभयो । जनयुद्धकालमा माओवादीले घाइते बनाएकी परी थापाकी श्रीमतीलाई हेर्न जाँदा पनि तपाईं घाइतेभन्दा बढी रुनुभएको थियो । तर, तपाईंको रुवाइ कुनै भावुकता नभएर ढोंग मात्र हो । जनताका अगाडि म मात्र सही छु भनेर देखाउने चेष्टा मात्र हो ।
आरोप १
समाज, जनता र देशलाई असाध्यै ठूलो क्षति पुर्याउने घटना भयो भने म निकै गम्भीर हुन्छु । आफूले देख्दादेख्दै केही गर्न सकिएन भने, यसो गर्नुपर्छ भन्ने थाहा पाउँदा–पाउँदै गुणात्मक भूमिका खेल्न सकिएन भने, देश र जनताले ठूलो क्षति बेहोर्नुपर्ने भयो भने मलाई ठूलो पीडा हुन्छ । म अलि भावुक प्रकृतिको नै छु । जीवनको अरू पक्षमा पनि हुन्छन् । मुख्य कुरा यही हो ।
त्यसवेला म बोल्दाबोल्दै भक्कानिएको थाहै पाइनँ । संविधानसभा हाम्रो असावधानीका कारण विघटनतिर जाने भयो भनेर बहस गरिएकै थियो । हामी ठूलो षड्यन्त्रको सिकार भयौँ भनेको थिएँ । त्यही दिन बिहान प्रधानमन्त्री बाबुराम र प्रचण्ड भएकै वेला बालुवाटारमा मैले भनेको थिएँ, ‘हामी ठूलो षड्यन्त्रको सिकार हुँदै छौँ । हामी फस्दै छौँ । संविधानसभा विघटनको खतरा छ ।’ अध्यक्षले एकपटक भन्नुभयो, ‘प्रकाशजीले भनेजस्तै षड्यन्त्र होला त ?’ तर, पनि उहाँहरू अन्तिममा सिरियस हुनुभएन । त्योअनुसार नीति योजना बनेन । मधेसी मोर्चाका साथीहरूलाई तपाईंहरू दोहोरो चरित्र देखाउँदै हुनुहुन्छ भनेँ । उहाँहरूले ‘तपार्इंले गम्भीर कुरा गर्नुभयो’ भन्नुभयो । सबै ताल हेर्दै छु, हेर्दाहेर्दै संविधानसभा विघटन हुने भयो बा ।
मिडियामा कुरा गर्दै जाँदा संविधानसभा विघटन हुने भयो, बचाउन सकिएन भनेर रोएछु । मेरो उक्त भनाइमा केहीले टिप्पणी पनि गरे । मैले मात्र भनेको थिएँ– विघटन हुँदै छ भनेर । हेर्दाहेर्दै विघटन त भयो नि ।
हो, परी थापाकी श्रीमतीलाई अस्पतालमा भेटन जाँदा रोएको हुँ । त्यो माओवादी साथीहरूले गर्नुभएको थियो । मलाई आँसु आएको हो । उहाँ निर्मम यातनामा पर्नुभएको थियो । जसरी गरियो भनेर बयान अस्पतालमा सुनेँ, एउटा क्रान्तिकारीले अर्को क्रान्तिकारी पार्टीको कार्यकर्ता, परिवारका सदस्यलाई, महिलालाई त्यसरी यातना दिएर गर्न खोजेको के हो ? आन्दोलन कहाँ रहेछ ? आन्दोलनको हालत देखेर म तनावमा आएको हो । उहाँलाई परेको पीडा र आन्दोलनको अवस्था हेरेर आँसु झरेको हुँ ।
आरोप २
तपार्इं प्रचारमुखी हुनुहुन्छ । आफ्ना सानातिना कुराहरू प्रचारमा ल्याउन आफैं मिडियाकहाँ पुग्नुहुन्छ । सार्वजनिक गाडी चढ्न थालेपछि टिभीका क्यामरा बोलाएरै समाचार बनाउन लगाउनुभयो ।
म प्रचारमुखी छु कि छैन भनेर एक–दुईवटा घटना हेरेर थाहा पाउनुहुन्छ । मैले सार्वजनिक यातायात चढेको दुई महिना मिडियाले थाहै पाएन । मिडियाले थाहा पाएर मकहाँ आएपछि पनि मैले यो कुरा नगरौँ भनेको थिएँ । किन लेख्नुपर्यो भनेको थिएँ । तर, मिडियाले लेखेपछि यो आन्दोलनको विषय भयो । अझै मलाई बुझ्न बाँकी छ भने उहाँहरूले अलि पछाडि बुझ्न पाउनुहुन्छ । म आफूले देखेको ठीक पक्षमा जीवन अभ्यास गर्ने मानिस हँु । मिसन पनि यही हो ।
आरोप ३
भूमिगत कालमा तपार्इं पजेरो चढेर, सुरक्षाकर्मी लिएर हिँड्नुहुन्थ्यो । शान्तिप्रक्रियापछि पनि गाडीमै हुइँकिनुहुन्थ्यो । केही समययता कहिले साझा बसमा, कहिले माइक्रोबसमा देखिनुभएको छ । यो सस्तो लोकप्रियता कमाउनका लागि तपाईंले गरेको ‘स्टन्ट’ मात्रै हो ।
पहिलो त भूमिगत र अर्धभूमिगत हुँदा मैले निजी गाडी चढ्दै चढिनँ । ०६२–०६३ पछि मात्रै गाडी चढेको हो । निजी गाडी छाडेर सार्वजनिक गाडी चढ्नुका पछाडि उद्देश्य छ । एकथरी मानिसलाई राजनीतिक पार्टीका नेताहरू भ्रष्टाचार नगर्ने पनि हुन्छन् र ? भन्ने लाग्छ । त्यो नेपालको राजनीतिक पार्टी, यहाँको सरकार र नेताहरूका कारण भएको हो । जनतालाई दोष दिएर हुँदैन । मैले जे उद्देश्यले काम गरिराखेको छु, त्यो सबैले पहिला नै बुझ्छन् भन्ने होइन । आम चेतना, संस्कृति, यहाँको राजनीतिक सत्ताका कारणले, पार्टीहरूको आचरणका कारणले, नेताहरूको कार्यशैलीका कारणले पैदा भएको छ भने जनताले कस्तो नबुझेको भनेर गाली गर्नु उपयुक्त ठान्दिनँ ।
पहिलो त भूमिगत र अर्धभूमिगत हुँदा मैले निजी गाडी चढ्दै चढिनँ । ०६२–०६३ पछि मात्रै गाडी चढेको हो । निजी गाडी छाडेर सार्वजनिक गाडी चढ्नुका पछाडि उद्देश्य छ । एकथरी मानिसलाई राजनीतिक पार्टीका नेताहरू भ्रष्टाचार नगर्ने पनि हुन्छन् र ? भन्ने लाग्छ । त्यो नेपालको राजनीतिक पार्टी, यहाँको सरकार र नेताहरूका कारण भएको हो । जनतालाई दोष दिएर हुँदैन । मैले जे उद्देश्यले काम गरिराखेको छु, त्यो सबैले पहिला नै बुझ्छन् भन्ने होइन । आम चेतना, संस्कृति, यहाँको राजनीतिक सत्ताका कारणले, पार्टीहरूको आचरणका कारणले, नेताहरूको कार्यशैलीका कारणले पैदा भएको छ भने जनताले कस्तो नबुझेको भनेर गाली गर्नु उपयुक्त ठान्दिनँ ।
मिडियाका साथीहरू पनि प्रस्ट हुँदै गएको बुझ्छु । म केमा स्पष्ट छु भने यदि तपाईं सत्ता वा कुर्सीको लोभ, पैसा र तथाकथित प्रतिष्ठाको आशक्ति वा लोभमा पर्नुहुन्न र तपाईसँग भएको चिज पनि कुनै दिन छाड्न तयार हुनुहुन्छ भने सत्यको पक्षमा लाग्न कसैले रोक्न सक्दैन । जसरी पनि सरकारमा रहनुपर्छ भन्ने सोच भयो भने बेठिक लागेको कुराको पनि विरोध गर्न सकिन्न । फाले फालून् भन्ने भयो भने पनि विरोध हुन्छ । पार्टीमा बेठिक लागेको कुरा गर्नुपर्छ । पद खोसिन्छ भने खोसिन्छ । सत्य र ठीकको पक्षमा बोल्ने, त्यसैको अभ्यासमा जानुपर्छ भन्ने मेरो मान्यता हो । त्यो कुरा सबैले अहिले नै बुझ्छन् भन्ने होइन ।
जस्तै, माक्र्सको हालत के भयो ? माक्र्स र एंगेल्सले आफ्ना कुरा राख्न आफ्नैबारे छद्म नामबाट लेख लेख्नुभयो । छद्म नामबाट बखान गरेर लेख्नुपर्यो । बुद्धमाथि व्यभिचारकै आरोप लाग्यो । सुकरातलाई विष खाएर मर्न बाध्य पारियो । महात्मा गान्धीको हत्या नै भयो । माओलाई षड्यन्त्रको सिकार बनाइयो । लेनिनले गोली नै खानुपर्यो । जनताले गलत सोच्छन् भनेर अन्यथा लिनु हुँदैन । आफूले लिएको ठीक जीवन व्यवहारबाट उनीहरूलाई जवाफ दिने हो ।
आरोप ४
०५१ मा एकताकेन्द्र विभाजन भयो । प्रचण्ड–बाबुराम, वैद्य, बादलहरू जनयुद्धका लागि अगाडि बढ्नुभयो, तर तपार्इं जनसंघर्ष भन्दै जनयुद्धमा जान तयार हुनुभएन । तपाईं ‘आत्मसुरक्षावादी र विसर्जनवादी’ कम्युनिस्ट हो ।
यो पनि प्रचार मात्र हो । मेरो ०५१ मा आएर मात्र मतभेद भएको होइन । पार्टी एकता गर्दादेखि (०४८) नै एकातिर क्रान्तिकारी निष्ठामा, क्रान्तिकारी स्पिरिटमा हामी एक ठाउँमा थियौँ भने अर्कोतिर वैचारिक–राजनीतिक लाइनमा हाम्रो मतभेद प्रस्टै थियो । ०५१ सालसम्म म उहाँहरूकै लाइनको पछाडि लागेको र ठ्याक्कै सशस्त्र संघर्षमा जाने वेला जान्नँ भनेर अलग भएको होइन । त्योभन्दा अगाडि नै राजनीतिक–वैचारिक मतभेद थियो ।
वैचारिक रूपमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको सिंहावलोकन गर्नुपर्छ, प्रतिक्रान्तिको शिक्षा लिनुपर्छ, आजको माक्र्सवाद प्रतिक्रान्तिको शिक्षासहितको माक्र्सवाद हो भन्दा मलाई विसर्जनवादी भनिएको हो । पछि ‘२१औँ शताब्दीको जनवाद’मा त त्यही निष्कर्ष निकालियो । कार्यदिशामा मैले दीर्घकालीन जनयुद्ध र सशस्त्र विद्रोहको फ्युजन गरेर मात्र नेपालमा क्रान्ति हुन्छ भन्दा मलाई सारसंग्रहवादी भनिएको हो नि । पछि त्यही निष्कर्ष निकालियो । त्यस्तै अरू पनि मतभेद थिए । त्यो मतभेदका कारण हामी एक ठाउँ पुग्न सकेनौँ । इतिहासमा त्यो मतभेदमध्ये कुन सही, कुन गलत भन्ने त समीक्षा होला । जनयुद्धकै बलमा नेपालमा यो परिवर्तन सम्भव भएको हो भन्ने त हामीले स्वीकार गरेका छौँ । वैचारिक–राजनीतिक रूपमा पार्टी निर्माणको प्रक्रिया कसरी अगाडि बढ्छ भन्नेमा हाम्रा अलग मत थिए । आत्मसुरक्षाका कारणले होइन, राजनीतिक मुद्दाका कारण हो । यसो गर्दा समग्रतामा हेर्नुपर्ने हुन्छ । जनयुद्धमा गएर पनि भ्रष्टाचारी हुने, गैरसर्वहारा आचरण देखाउने र निरन्तर आफ्नो विशेषतासहित क्रान्तिमा लागिरहने बीच कसरी फरक छुट्याउने ? माक्र्स त आफैँ युद्धमा जानुभएन । हामी कस्तो आत्मसुरक्षावादी माक्र्सवादको पछाडि लाग्ने ? माक्र्सलाई चरम आत्मसुरक्षावादी भन्न मिल्छ ?
आरोप ५
हिजो निर्मल लामादेखि आज एकीकृत माओवादीमा हुँदासम्म तपाईं एउटा गुट बोकेर हिँडिरहनुभएको छ । पार्टीका बैठकमा जानुपूर्व तपाईंले आफ्नो गुटको बैठक डाक्नुहुन्छ । तपाईं पार्टी राजनीतिभन्दा गुट राजनीतिमा विश्वास गर्नुहुन्छ ।
यो सबैभन्दा झुटो कुरामा पर्छ । किनभने, मैले बैठकमा लगातार साथीहरूलाई भनेको कुरा के हो भने गुटले अहिलेको पार्टी निर्माणको उद्देश्यलाई सेवा गर्दैन । क्रान्तिकारी आन्दोलनलाई सेवा गर्दैन । हामीले पार्टी एकता गर्ने दस्ताबेजमा पनि त्यो कुरा भनेका छौँ । हामी फेरि गुट बनाउनेतिर लाग्छाँै भने त्यो फेरि क्रान्तिका लागि लाभदायक हुँदैन । म गुटको पक्षमा छैन । गुटका अवशेष हुन सक्छन् । म त सचेत ढंगले गुट भत्काउनुपर्छ भनेर लड्ने मान्छे हुँ । म यति पनि भनूँ, संविधानसभाको निर्वाचनपछाडि केन्द्रीय समिति बैठकमा मैले भनेको थिएँ, गुटको जति पनि अवशेष छ, त्यसलाई भत्काउन म सम्पूर्ण रूपले प्रतिबद्धता व्यक्त गर्छु । हामीले गुट त चलाउन खोजेनौँ, तर पनि भेटघाट र छलफलहरूले अवशेष दियो भन्ने अनभूतिलाई भत्काउनुपर्छ भनेको हो । मैले पूर्वसमूहबाट आउने साथीहरूसँग पाँच–सात महिना भेटघाट नै गरिनँ । गिरिराजमणि पोखरेलजस्ता कमरेडहरूले अध्यक्षसँग भन्नुभयो– गुट त भत्काउने भनेको, प्रकाश कमरेडले त भेट पनि दिन छाड्नुभयो । अध्यक्ष कमरेडले ‘यसो गर्दिनुभएन, भेट त गर्नुपर्यो’ भन्नुभयो । म जे बोल्ने हो त्यही गर्ने मान्यता राख्छु । जे गर्न सकिन्छ, त्यही भन्ने हो । विचारसमूह हुन सक्छन् । भेटघाट गर्न हुँदैन भन्ने संकीर्णवादले पार्टी र आन्दोलन अगाडि बढ्दैन । तर, गुट र विचारसमूह फरक हुन् । गुटमा निहित स्वार्थ हुन्छ । छुट्टै संयन्त्र हुन्छ । तलदेखि माथिसम्म छुट्टै केन्द्रीयता हुन्छ । कार्यशैली षड्यन्त्रमूलक हुन्छ, अपारदर्शी हुन्छ । गुट पार्टी सत्ता संघर्षमा जान्छ । विचारसमूह पार्टीको वैचारिक रूपान्तरणमा हुन्छ । पार्टीमा विचारसमूह भए प्रोत्साहन नै गर्नुपर्छ । तर, गुटहरूको अन्त्य गर्नुपर्छ ।
आरोप ६
तपाईंसँगै काम गरेका भरत दाहालले आफूसित प्रमाण भएको दाबी गर्दै जनयुद्धकालमै लेखे, ‘नारायणकाजीले माओवादीको पैसा लिएर अपचलन गरे ।’
यो त टिप्पणी गर्न लायक कुरा नै होइन । भरत दाहालजस्तो मान्छेले किन लेख्नुभयो भन्नेचाहिँ गम्भीर प्रश्न हो । म अहिले त एकीकृत माओवादीमै छु नि । हाम्रोबीचमा कहिलेकाहीँ मतभेद पनि हुन्छ । भरतजीले भनेजस्तो प्रचण्डजीहरूबाट पैसा ल्याएर पार्टी चलाएको भए के हुन्थ्यो होला ? त्यो वेलामा माओवादीले निर्मल लामा बिरामी हुँदा सहयोग गरेको होला । नरबहादुर कर्माचार्य र निरञ्जन गोविन्द वैद्यलाई कम्युनिस्ट पार्टी गठन भएको ठाउँ कलकत्तामा लगेर एउटा फिल्म बनाउने भन्ने कुरा थियो । उहाँहरूलाई भ्रमण गराउन सहयोग गर्नुभएको होला । कतिपय साथीलाई सहयोग गर्नुभयो होला उपचारका लागि । तर, उहाँहरूले पार्टी चलाउनका लागि पैसा दिएको र त्यसले पार्टी खर्च चलाएको भन्नेजस्तो कुरा पूर्णतया असत्य हुन् । यसले केही हुँदैन । त्यसैले यसमा बढी चर्चा गर्न आवश्यक छैन । आरोप लगाउने साथीले प्रमाण ल्याउनुभयो भने बहस गर्ने मात्र होइन, त्यो पैसा उहाँकै नाममा गरिदिउँला नि त । पुरस्कार पनि दिउँला । यति मात्र होइन, एकजनाले भनेछन्, प्रकाशले सार्वजनिक गाडी त चढ्नुभएछ । ठमेलको विशाल महल कसको हो नि ? मैले त्यो सुनाउने साथीलाई भनेँ, ‘उहाँले बडो राम्रो कुरा गर्नुभएछ । त्यो ठमेलको महल पनि उहाँलाई नै हुने भयो । प्रमाणचाहिँ ल्याइदिनुस् । खुलामञ्चमा मेरो शक्तिले भ्याउने मान्छे जम्मा गरेर उहाँलाई सम्मान गर्छु । र, त्यही दिन राजनीति छाडेर जेल जाने घोषणा गर्छु ।’ यस्तो मनलागी आरोप लगाउनेलाई के भन्ने ?
आरोप ७
मोहनविक्रम सिंहले तपाईंसँगको सहकार्यबारे बडो कठोर टिप्पणी गर्नुभएको छ, नयाँ पत्रिकासँगको अन्तर्वार्तामा । उहाँका अनुसार तपाईं ‘राजनीतिक व्यापारी’ (लाभको राजनीति गर्ने व्यक्ति) हुनुहुन्छ । उहाँले ‘पार्टी एकताका चार वर्ष र एकतापछिका चार वर्ष मेरो राजनीतिक जीवनमा सबैभन्दा खराब समय’ भनेर टिप्पणी पनि गर्नुभएको छ ।
एमबी सत्यको छेउ पनि पुग्न सक्नुभएन । किनभने, उहाँसँग पार्टी एकता हुँदा उहाँ महामन्त्री, म सहमहामन्त्री भएँ । त्यसपछि उहाँसँग दुईवटा कुरामा मतभेद भयो । एउटा, संविधानसभा आजको निकास हो कि होइन, अर्को माओवादीसँग कार्यगत एकता गरेर मिल्ने हदसम्म संयुक्त भएर जाने कि नजाने ? । यही बहस हुँदाहुँदै पार्टी विभाजन भयो । उहाँले संविधानसभाको विरोध गर्दागर्दै पार्टी फुट्यो । मैले प्रस्तावित गरेको कार्यनीति र संघर्षको योजना ठीक थियो भन्ने साबित भयो । अरू त उहाँसँग केही भएकै थिएन । उहाँले के आधारमा त्यो भन्नुभयो ?
पार्टी एकताका चार वर्ष र एकतापछिका चार वर्ष सबैभन्दा खराब समय भन्ने जून कुरा छ, त्यो हुन सक्छ । किनभने, हामीबीच बडो गम्भीर बहस भयो । संविधानसभा नै आजको निकास, माओवादीलाई सँगै लिएर जानुपर्छ भन्ने हाम्रो बहसमा सिंगो देश आइपुग्यो । उहाँ यसको विपक्षीमा देखिनुभयो । त्योभन्दा सकस उहाँलाई अरू के भयो होला र ? अरू वेला त अमूर्त सैद्धान्तिक कुरामा मात्र बहस भएको थियो । पछिल्लो बहस त एमबीसँग परेकै हो । देश कता जाने भन्नेमा थियो त्यो बहस । उहाँलाई टाउको दुखाइ भएको भए मैले के गर्न सक्छु र ? उहाँका केही राम्रा पक्ष छन् । एमबीजी यो उमेरमा पनि सक्रिय, क्रियाशील हुनुहुन्छ । उहाँ अध्ययनशील हुनुहुन्छ । उहाँ स्वास्थ्यको ख्याल गर्नुहुन्छ । एक ठाउँमा लेख सुरुवात गरेर अर्को ठाउँमा पुगेर टुंग्याउनुहुन्छ । कतिपय राम्रा पक्ष छन् । तर, उहाँमा एउटा समस्या देखियो । क्रान्तिकारी माक्र्सवादलाई जीवनमा पक्ड्निुभएन । माक्र्सवादलाई जीवन व्यवहारमा लागू गर्ने सिर्जनशीलता र साहस प्रस्तुत गर्नुभएन ।
आरोप ८
एकता केन्द्र र माओवादीबीचको पार्टी एकीकरणपछि पूर्वएकताकेन्द्रकै नेता अमिक शेरचनलगायतले केही विषय उठाउनुभयो । उहाँहरूले प्रकाशले आफ्नो पद सुरक्षित गरेर एकता गर्नुभयो, त्यसपछि हामीलाई छाडिदिनुभयो भन्नुभएको थियो । मतलब, तपाईंको चासो केवल पदको सुरक्षामा रहन्छ ।
मैले कसरी छोडेँ ? त्यति सम्मानजनक एकता भएको थियो । दुवै पार्टीको केन्द्रीय समिति सिंगैका सिंगै केन्द्रीय समिति बनाइएको हो । त्यतिवेला म पनि केन्द्रीय समितिमा थिएँ । सबै केन्द्रीय सदस्य थिए । मैले उतिवेलै महासचिव त ल्याएको थिइनँ । उपाध्यक्ष त ल्याएको थिइनँ । दुईवटा पार्टीको केन्द्रीय सदस्य सबै केन्द्रीय सदस्य भएका हुन् । प्रचण्ड अध्यक्ष हुनुभएको हो । उहाँहरूले भनेको त मिलेन ।
पद सुरक्षाबारे मेरो अनुभूति त्यसो छैन । म अहिले पनि यो मान्यता राख्छु आफूले देखेसम्मको ठीक गर्ने, क्रान्ति, देश र जनता वा पार्टीका निम्ति राम्रो गर्ने हो । काम गरेबापत निजी लाभको चाहना राखिएन । जिम्मेवारी लिन तयार रहनु, पूरा गर्न सक्षमता प्रदर्शन गर्नुपर्ने आवश्यकता छ । क्रान्ति किन गर्ने त ? व्यक्तिगत लाभका लागि ? होइन । जिम्मेवारी लिने सही हो । कार्यविभाजन सही हुनुपर्छ । यसका लागि लड्नुपर्छ । यो पनि सही हो । तर, पदीय आशक्तिले बिगार्छ । पदकै लागि विचार बनाउने, पदकै लागि मतभेद बनाउने, गुट चलाउने, आफ्नो मान्छे खराब भए पनि राम्रो बन्ने प्रवृत्तिसँग लड्नुपर्छ । म लड्छु ।
नेत्र पन्थी/मनोज घर्तीमगर
नयाँ पत्रिकाबाट
- See more at: http://kathmandutoday.com/2015/01/69839.html#sthash.YTRikj2x.dpuf
No comments:
Post a Comment